जनकपुरधाम । मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलललाई बुझाएको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी मधेसमा ३.८७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै, पेस्कीबाहेक बेरुजु प्रतिशत २.९३ रहेको प्रतिवेदनमा उल्लेख छ ।
मधेस प्रदेशका १४९ वटा कार्यालयको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । यस्तै, पेस्कीबाहेक मधेसमा कुल १ अर्ब ४० करोड ५६ लाख ७४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, महालेखा परीक्षकको प्रतिवेदन अनुसार कोशी प्रदेशमा २.५० प्रतिशत, बागमतीमा १.१५ प्रतिशत, गण्डकीमा १.९५, लुम्बिनीमा १.९५, कर्णालीमा २.५९ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ०.९५ प्रतिशत बेरुजु रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले ७ वटा प्रदेशको १ हजार ३८७ वटा कार्यालयको ३ खर्ब ६० अर्ब ८३ करोड ५६ लाख ८९ हजारको लेखापरीक्षण गर्दा ७ अर्ब ४० करोड ८९ लाख ३६ हजार अर्थात २.०५ प्रतिशत बेरुजु देखिएको हो ।




