वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा जबरजस्ती करणी मुद्दामा पीडक पक्षलाई दबाब दिएर मिलापत्र गराउने चलखेलमा लागेको छ । पीडक पक्षले पीडित महिलाको घर परिवारलाई आर्थिक प्रभावमा पारी मुद्दा मिलापत्र गराउनेतर्फ चलखेल गरिरहेको बताइएको छ ।
पीडक पक्षले रु ५० हजार पीडित महिलाको घर परिवारलाई दिएर उक्त मुद्दामा पीडित महिलाको बयान फेर्न लगाउने प्रयास गरिरहेको गाउँलेहरूले बताएका छन् । यस बलात्कार मुद्दालाई लिएर केही दिन अघि गाउँमैं पञ्चायती बसेर पीडित महिलाका नातेदारको रोहबरमा मुद्दा मिलापत्र गराउन दबाब दिइएको थियो ।
पीडक भीम यादवका भाइहरू प्रहरी अधिकृतमा कार्यरत रहेकाले यस्तो चलखेल भइरहेको बताइएको छ । गत वैशाख १२ गते साँझ करिव साढे ७ बजे २२ वर्षीया महिला आफ्नै घरमा एक्लै रहेको बेला ४४ वर्षीय भीम यादव निज महिलाको घरमा प्रवेश गरी मुख थुनेर बलात्कार गरेका थिए ।
सोको भोलिपल्ट पीडित महिलाले इलाका प्रहरी कार्यालय, पोखरियामा आफूमाथि बलात्कार भएको जाहेरी दिएपछि स्वास्थ्य परीक्षण एवम् अनुसन्धानका अन्य प्रक्रिया शुरू भएका थिए । सो मुद्दामा जोहरी दर्ता भएपनि प्रहरीले हालसम्म पीडक यादवलाई पक्राउ गर्न सकेको छैन । हाल पीडक यादव फरार छन् ।
यस विषयमा इप्रका, पोखरियाका प्रहरी निरीक्षक राजन ढकालसँग बुझ्दा उनले यो मुद्दामा पीडकको नाममा पक्राउ पुर्जी जारी भइसकेको र अनुसन्धानको क्रममा पीडित होस्टाइल हुँदा पनि मुद्दामा केही फरक नपर्ने स्पष्ट पारे । उनले चाँडै पीडक यादवलाई पक्राउ गर्न मातहतका युनिटलाई निर्देशन दिएको बताए ।




