पर्वत । विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा पोखरा महानगरपालिका ३२ स्थित युनिभर्स इङलिस बोर्डिङ स्कुलका शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कास्कीकै रूपा गाउँपालिका ५ का ३२ वर्षीय शिक्षक सुदीप अधिकारी पक्राउ परेका हुन् ।
अधिकारीले गत जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी बालकको शरीरको पछाडिको भागमा लट्ठीले प्रहार गरी घाइते बनाएको जाहेरी प्रहरीमा परेको छ । सोही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत जेठ २० गते शिक्षक अधिकारीलाई पक्राउ गरेको हो ।
कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । यो कसुरमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।






