काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेसमा एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका छन् ।
जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन् ।
मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए ।
यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो । एमालेसहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।
यसका साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक एक सांसदले समेत जनमत नेतृत्वको सरकारलाई समर्थन गर्ने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।




