धनुषा । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने गरिन्छ ।
वटसावित्री पर्वमा पतिको दीघार्युको कामना गर्दै वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरा लगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।
प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ । वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ ।
यसैले मिथिलानी विवाहित महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन् । यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ ।
मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिन पूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिव पार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ ।
बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ ।
मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउने गरेका छन् ।
सति सावित्री को हुन् ?
मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सकेनन् । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनीसँग साक्षात्कार भयो ।
सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराइन् । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेपछि उनीहरु यतिखेर जंगलमा बस्ने गरेको, सावित्रीले जानकारी गराइन् ।
यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरी सकेकाले अब उनीसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो ।
तत्पश्चात निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमत्ताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गरिन् ।
सोही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।




