काठमाडौं । पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सिफारिस समितिले पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई हेरेर होइन कि आफ्नो दलको हो वा होइन भन्ने आधारमा नाम सिफारिस गर्दा पुरस्कार र तक्माको गरिमा ओरालो लाग्न थालेको छ ।
यस्तै देखिएको छ राष्ट्रपतिको हातबाट थाप्ने पदकको हाल । ०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी थापेकी एक कर्मचारी दुई साता नबित्दै घुस सहित पक्राउ परिन । उनी हुन् लेखा महत्त पनेरु । उनी जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत रहँदा डेढ लाख घुस रकमसहित पक्राउ परेकी हुन् ।
अख्तियारबाट खटिएका कर्मचारीले अधिकृत पनेरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतले लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना हुने सजाय सुनाएको ४ महिना पछि पूर्ण पाठ सार्वजनिक भएको हो ।
उनले बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोग लागेको थियो । पुरस्कार थापेको दुई साता पछि उनी घुससहित पक्राउ परेकी थिइन् ।




