जनकपुर । मधेस प्रदेशमा ६ दल मिलेर सरकार बनाउन दाबी पेस गरेका छन् । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र आज केन्द्रका सत्तारुढ ६ दलले मिलेर संयुक्तरुपमा सरकार बनाउने दाबी पेस गरेका हुन् । बुधबारको सदनबाट मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि केन्द्रका सत्तारुढ ६ दलले मिलेर संयुक्तरुपमा सरकार बनाउने दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरुपमा सरकार गठन गर्ने दाबी पेस गरेका हुन् । सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस भएसँगै आजै मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूले शपथ पनि लिनेछन् ।
कुन पार्टीलाई कुन मन्त्रालय ?
सत्तारुढ दलले बिहीबार कुन पार्टीलाई कति मन्त्रालय दिनेसमेत टुंगो लगाइसकेका छन् । सरकारमा सहभागी ६ दलहरुमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ र नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक/एक मन्त्रालय भागबन्डामा परेको छ ।
एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय परेको छ भने माओवादीलाई अर्थ र पर्यटन मन्त्रालय परेको छ । यसैगरी जनमतलाई मुख्यमन्त्रीसहित वन मन्त्रालय परेको छ भने एकीकृत समाजवादीको भागमा ऊर्जा र कृषि मन्त्रालय परेको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा रोजगार र नेपाल सङ्घीय समाजवादीलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ ।




