सर्लाही । सर्लाहीको भरत ताल निर्माणमा ३० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नगरप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बागमती नगरपालिकाका (हाल निलम्बित) नगर प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो ।




