काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ अर्ब बढी बिगोको मागदाबी लिइएको परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शिवकुमार शर्मा जम्मा २५ हजार धरौटीमा छुटेका छन् ।
अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा सरकारी कर्मचारी, ठेकेदारसहित परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शर्मालाई समेत प्रतिवादी बनाएको थियो ।
शर्माविरुद्ध ४८ करोड ३६ लाख रुपैयाँ, कम्पनीविरुद्ध ८७ करोड ५८ लाख रुपैयाँ र निर्माण व्यवसायी सीएमसी रेभेनाविरुद्ध ६५ करोड १४ लाख रुपैयाँ बिगो माग दाबी भएकोमा विशेष अदालतले आइतबार २५ हजार धरौटी मागेको थियो ।
सरकारले २०७० असार ३१ मा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरि इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिएकोमा कम्पनी २०७५ मंसिर २९ मा बिचैमा काम छाडेर गएको थियो ।
सीएमसीले काम गरेको ५ वर्ष ५ महिनाको अवधिमा ठेकेदार, परामर्शदाता र सरकारी अधिकारीहरूबिच भएका कामकारबाहीहरू ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐन विपरीत भएको दाबीसहित अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
विशेषले आइतबार उजुरीमा उठाइएका प्रश्न, अनुसन्धानमा संलग्न पत्र र सम्झौता, विकास समितिबाट प्राप्त प्रतिक्रिया र सञ्चालक समितिको बोर्डको निर्णय पुस्तिका लगायतको आधार लिएपनि २५ हजार मात्र धरौटी मागेको हो ।
अदालतले मेलम्ची भ्रष्टाचार मुद्दामा म्यादभित्र उपस्थित प्रतिवादीहरूको बयान सकिएको भन्दै असार १३ मा पूर्व सुनुवाइ छलफल राख्न आदेश दिएको छ ।




