रौतहट । रौतहट जिल्ला परवा नगरपालिका ८ नरकटियागुठीमा जेठ २७ गते एक जना विवाहित महिलाले आत्महत्या गरेको घटनामा हत्याको आरोप लागेको छ । २० वर्षीया निर्मलाकुमारी सर्राफले पासो लगाएर आत्महत्या गरेको ससुराली पक्षले दाबी गरेको छ ।
निर्मलाले राति ११:३० आत्महत्या गरेको र निजलाई रौतहट अस्पतालमा लग्दा मृत घोषित गरिएको ससुराली पक्षले जनाएको छ । घटना बारे प्रहरीलाई खबर नगरिएको कारण रौतहटमा शल्यपरीक्षण गरिएन र वीरगंज पठाइएको थियो ।
नारायणी अस्पतालमा २८ गते शल्यपरीक्षण गरेर परिवारलाई शव जिम्मा लगाइएको र अन्तिम संस्कार पनि भइसकेको छ । ससुराली पक्षले यस्तो कार्य गर्दा प्रहरी र माइती पक्षलाई खबर नगरेको भन्दै हत्याको आरोप लागेको हो ।
निर्मलाको माइती बारा, परवानीपुर गाउँपालिकाको लिपनीमा छ । उनका दाजु मुकेश सर्राफले बहिनीले आत्महत्या नगरेर उनको हत्या भएको आरोप लगाएका छन् ।
२०७९ फागुन ११ मा रौतहटको परवा नपाका शेषनाथ सर्राफसँग बहिनीको विवाह भएको र पछिल्लो समयमा उनलाई पति, सासू–ससुरा, देवर, नन्द मिलेर मानसिक तथा शारीरिक यातना दिने गरेको उनले आरोप लगाए ।
उनले ससुराली पक्षको प्रताणना सहन नसकेर बहिनीले आत्महत्या गरेकीले आत्महत्या दुरुत्साहन मुद्दामा कारवाही गर्न माग गरेका छन् । अनिता र शेषनाथका ४ महिनाको छोरा पनि छ ।
दूधे छोरालाई अहिले शेषनाथकै बुबाआमाले हेर्दै आएका छन् । प्रहरीले यस बारेमा गहन अनुसन्धान गर्नुपर्ने उनको माग छ । घटना बारे प्रहरी र माइतीलाई गुमराहमा राखिनुले पनि आशङ्का बढेको हो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ । शल्यपरीक्षण रिपोर्ट आइनसकेको र घटना अनुसन्धानकै क्रममा रहेकोले ठोकुवा गरी केही भन्न सक्ने प्रहरीले जानकारी गराएको छ । निर्मलाका पति शेषनाथ भने प्रहरीले अनुसन्धान सुरू गरेपछि फरार छन् ।




