सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका १० का २१ वर्षीय अबोध ठाकुर रहेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी बरहथवा नगरपालिका ५ स्थित नेपाल टेलिकमको कार्यालयमा ठेकेदारमार्फत ज्याला मजदुरीमा काम गर्दथे । सोही कार्यालयमा काम गर्ने क्रममा उनलाई र उनका भाइ आनन्द ठाकुरलाई बिहिबार बिहान करिव ११ बजे करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्लाकै बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा लगिएकोमा अबोधलाई त्यहाँ उपचार सम्भव नभएपछि हरिवनस्थित सरस्वती अस्पतालमा लगिएको थियो । तर, आज दिउँसो अबोधलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
अहिले अबोधको शव सोही अस्पतालमा राखिएको छ । घाइते अवस्थामा रहेका उनका भाइ आनन्दलाई बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




