धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टरमा रहेका अर्को १ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका ३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।
दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका २ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए । राति नै उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्याइएको थियो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।




