काठमाडौं । विशेष अदालतले डोल्पाको मुड्केचुला गाउँपालिकाको घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनालाई दोषी ठहर गर्ने फैसला सुनाएको छ । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उपभोक्ता समितिका अध्यक्ष, गाउँपालिकाका इन्जिनियर र ओभरसियरलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो ।
गाउँपालिकाका निमित्त वडाध्यक्षसहितका स्वीकृतकर्ताको भने संलग्नता पुष्टि नभएको भन्दै विशेष अदालतले सफाइ दिएको छ । बढी रकमको बिल भौचर बनाउन स्वीकृत गरेका गाउँपालिकाका दुई कर्मचारीहरू इन्जिनियर देवराज रावत र ओभरसियर दीपनारायण यादवलाई दोषी ठहर गरेको छ । विशेषले उनीहरूलाई जनही तीन महिना कैद र ३ लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवानाको हुने फैसला सुनाएको छ ।
यस्तै, घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकायालाई पनि दोषी ठहर गरेको छ । अदालतले अध्यक्ष रोकायालाई ३ लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवाना हुने र कैद नहुने फैसला सुनाएको छ । उक्त रकम कायम भएको बिगो १० लाख ९७ हजार ९५० रुपैयाँ २९ पैसा उनीबाटै असुल हुने विशेषको फैसलामा उल्लेख छ ।
गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सडक आयोजना सञ्चालन भएको मुड्केचुला गाउँपालिका ८ का तत्कालीन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई भने विशेषले सफाइ दिएको छ ।
अख्तियारले निमित्त प्रशासकीय अधिकृत डाँगीले उनीहरूले ल्याएको काम गरेकोभन्दा बढी बिल भरपाई सदर गरेको भन्दै मुद्दा दायर गरेको थियो ।






