काठमाडौं । फेसबुकमार्फत् चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको आरोपमा पोखराबाट एक महिला पक्राउ परेकी छिन् । सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा रौतहटको चन्द्रपुर १२ की दिपा थापा पक्राउ परेकी हुन् ।
उजुरीका आधारमा पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनका अनुसार दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
एसपी थापाले भने, ‘फेसबुकमार्फत नै चिनेकी साथीको घरमा खाना खाने बहानामा त्यहाँ पुगेको देखिन्छ । साथी खाना पकाइरहेका बेला सुन र नगद चोरी गरेको खुलेको हो ।’
प्रहरीको अनुसन्धानका क्रममा दिपा काठमाडौं लगायत विभिन्न सहरमा साथीको रूपमा घर पुग्ने र चोरी गरेर फर्किने गरेको खुलेको छ । पोखरामा अन्य व्यक्तिको घरमा पनि त्यही शैलीमा चोरी गरेको भन्दै दिपाविरुद्ध उजुरी दिएका छन् ।
चोरी मुद्दामा दिपामाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उनले फेसबुकमा नयाँ नयाँ पोसाक लगाउने, राम्री देखाएर साथी बन्ने र भेट्न जाने गर्दै आएकी छिन् ।






