काठमाडौं । लगातार पानी परेपछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगन्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।
वीरगन्ज महानगरका छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाई लगायतका ठाउँ डुबानमा परेका छन् । कोशी र मधेस, लुम्बिनीसहित नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
यस्तै लगातारको झरीले काठमाडौं उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलामा बाढी आएको हो ।
बागमती नदीले खतराको तह पार गरेकाले नदी किनारमा रहनेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढी आएका अरू नदी र खोला आसपासमा बस्नेलाई पनि सुरक्षित हुन भनिएको छ ।
लगातारको झरीले काठमाडौंको सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक जलमग्न भएका छन् । देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण सडक अवरुद्ध छन् ।
सिद्धार्थ राजमार्ग, विपी राजमार्ग, कर्णाली राजमार्गसहित हेटौँडा–काठमाडौं सडकखण्ड, कान्ति राजपथको ललितपुर खण्ड, लमजुङको बेशीसहर चामे सडक, घोराही–तुलसीपुर सडक अवरुद्व छन् ।




