काठमाडौं । सिरहाको लहान नगरपालिका २२ का लक्ष्मीप्रसाद कल्याणले आफ्नो छोरा देवदत्त चौधरीको २०६८ मा अपहरणपछि हत्या भएको भएको भएपनि अहिलेसम्म न्याय नपाएको बताएका छन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो छोरा लहानबाट अपहरणमा परेको र त्यसपछि हत्या भएको बताएका हुन् ।
छोरो अपहरणमा परेको ४/५ महिनापछि अपहरणकारीहरुले ५ लाख रुपैयाँ फिरौती मागेको उनले बताए । देवदत्त अपहरणमा परेको दिन नै आफूले प्रहरी कार्यालयमा उजुरी दिएको बताए । तर, आजसम्म कसले अपहरण गर्यो र हत्या भयो भन्ने खुल्न नसकेको बताए ।
‘मेरो छोरा देकदत्ता चौधरीलाई २०६८ वैशाख १२ गते सोमबार अपहरण गरेको थियो । छोरा अपहरणमा परेको लगभग एक वर्षपछि २०६९ सालमा नागरिक पत्रिकामा छोराको मृत्यु भएको खबर छापिएर आएको थियो र त्यसपछि छोराको हत्या भएको खबर पायौं,’– उनले भने ।
छोराको मृत्युको खबरपछि आफूले नेपाली कांग्रेसका पूर्वसांसद नारायण प्रसाद चौधरी लगायत ७/८ जनाको नाममा लहान प्रहरी चौकीमा किटानी जाहेरी दिन खोजेपनि प्रशासनले जाहेरी लिन नमानेको उनको गुनासो छ ।
उक्त अपहरण कसले र किन गरेको थियो भन्ने कुरा अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसकेको उनले बताए । उनले आफ्नो छोराका अपहरण र हत्याको बारेमा निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कानुनी कारवाही हुनुपर्ने माग गरेका छन् ।




