सर्लाही । सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति करिव १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घरमा एक्लै सुतेको बेला राति १ बजे धारिलो हतियारले टाउकोमा प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो । घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेको छ ।
हत्या सम्बन्धमा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम् एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । ती व्यक्तिले राति नै झाको हत्या भएको बारे आफन्तलाई जानकारी गराएको बताइएको छ ।
हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टमका लागि शवलाई मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार राज्यमन्त्री रायको हत्यामा घरेलु हतियार प्रयोग भएको देखिन्छ । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ ।
राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालीन सरकारको भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । उनी अहिले पनि राप्रपामै आवद्ध छन् । रायका पत्नी र छोराबुहारी काठमाडौंमा बस्ने गरका छन् ।
अहिले घटनास्थलमा ठूलो संख्यामा स्थानीय भेला भएका छन् । सोही घरमा बस्दै आएका एक युवकले तीन जनाको संख्यामा आएका अज्ञात व्यक्तिले रायको हत्या गरेको बयान दिएका छन् ।




