जुम्ला । जुम्लामा धुवाँमा निस्सासिएर दिदी बहिनीको मृत्यु भएको छ । सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका ६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो । मायालक्ष्मी ११ दिनकी सुत्केरी थिइन् ।
सुत्केरी स्याहारका लागि जुनमाया दिदीकोमा गएकी थिइन् । मायालक्ष्मी सदरमुकाम रहेको चन्दननाथ नगरपालिका ५ कालेखोलीमा बस्दै आएकी थिइन् । आइतबार राति धुवाँमा निस्सासिएर बेहोस भएका उनीहरूलाई सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
प्रतिष्ठानले मायालक्ष्मीलाई सोमबार नै मृत घोषणा गरेको थियो । यस्तै उनकी बहिनी जुनमायाको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए । उनका अनुसार मायालक्ष्मीको ११ दिनको बच्चा भने सकुशल छन् ।
शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको उनले जानकारी दिए । सोमबार बिहान अबेरसम्म दुवै दिदी बहिनी नउठेपछि आफन्तले ढोका फोरेर हेर्दा उनीहरू निस्सासिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक कामतीले जानकारी दिए ।






