काठमाडौं । आज साउन १५ अर्थात खीर खाने दिन । तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ ।
शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो ।
दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ ।
साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ । यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो ।
यस्ता छन् खीर खानुका ९ फाइदा
१. साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ ।
२. दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ ।
३. चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो । चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ ।
४. गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं ।
५. खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।
६. खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ ।
७. खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् ।
८. खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो । तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन । ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ ।
९. पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ ।






