धनगढी । कञ्चनपुरमा निकै दुखद घटना घटेको छ । बिहिबार बिहानै जिल्लाको दोधारा चाँदनी नगरपालिका २ की २६ वर्षीया हीरा शाहलाई बाघले आक्रमण गरेपछि उनको स्वर्गारोहण भएको छ । उनी बिहिबार बिहानै घर नजिकैको खेतमा घाँस काट्न गएकी थिइन् ।
उनको घर नजिकै करिव १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ । उनी सोही खेतमा घाँस काटिरहेका बेला नरभक्षी बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो । प्रहरीका अनुसार बाघले करिव ५० मिटर घिसारेको थियो ।
त्यसपछि उनको त्यहीँ घटनास्थलमै मृत्यु भयो । अहिले उनको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ । केहि दिनदेखि दोधारा चाँदनी नगरपालिका २ मा बाघ देखिएको थियो ।
कलिलो उमेरमै परिवारको सदस्य गुमाएपछि परिवार अहिले विक्षिप्त छ । परिवारमात्र होइन, उनका दुई वर्षे दुधे छोरा आमा खोजेर रोइरहेका छन् । जेठानीले अबोध ती बालकलाई कहिले केहि, कहिले केहि भनेर भुलाउने प्रयास गरिरहेकी छन् । तर उनले मान्ने अवस्थै छैन ।
हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन् । गोविन्द अहिले मजदुरी गर्न भारतको हिमाचलमा छन् । पत्नीको दुखान्त सुनेपछि उनी घर फर्किँदै छन् । गोविन्द वैशाखमा बुवाको बरखी गरेर मजदुरी गर्न भारत गएका थिए ।
यस्तै मृतक हीराकी जेठानी मीनाका श्रीमान् रोजगारीको सिलसिलामा मलेसियामा छन् । गोविन्दकी आमा ७ वर्षअघि बितेकी थिइन् । बुवाको बरखी सकेर मजदुरी गर्न भारत गएका गोविन्दले पत्नीवियोगको वज्रपात व्यवहोर्नु परेको छ ।
उनको परिवार २०५० सालमा दार्चुलाको गोकुलेश्वरबाट दोधारा चाँदनी झरेको थियो । बाघको आक्रमणबाट मान्छे मृत्युको घटनाले दोधारा चाँदनी शोकमा मात्रै डुबेको छैन, त्रासमा पनि छ । हीरालाई आक्रमणपछि उखुबारीमा लुकेको बाघलाई नियन्त्रणमा लिन सकिएको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन हुँदा पनि बाघलाई नियन्त्रणमा लिन सकिएको छैन । नियन्त्रणमा नआएको बाघलाई हात्ती सहितको सुरक्षाकर्मीको टोलीले पहरा दिइरहेको छ ।




