रौतहट । रौतहटको गढीमाई नगरपालिका १ समनपुर गाउँबाट आइतबार प्रहरीले नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । समनपुर गाउँका ५१ वर्षीय वीरेन्द्र राउतलाई कटुवा पेस्तोलसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
‘घर अगाडि आगनको झारमा लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल फेला पारेका हौं,’ उनले भनिन्, ‘उक्त बन्दुक कहाँबाट ल्याएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।’
राउतले कटुवा पेस्तोल राखेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय गरुडाको टोली उनको घर पुगेको थियो । त्यसपछि प्रहरीले घरभित्र सर्च गरेको थियो । पेस्तोल फेला पारेपछि राउतलाई तत्कालै नियन्त्रणमा लिई सोधपुछ गरेको डीएसपी गिरीले बताइन् ।




