कञ्चनपुर । वर्षात्को पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन् । २ वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ ।
पानीको निकासका लागि राखिएको ह्युमपाइप थुनेर घर निर्माण गरिएपछि बजार क्षेत्र जलमग्न हुँदै आएको स्थानीय बताउँछन् । सडक अतिक्रमण गरी बनाएका घर लगायत पक्की संरचना हटाएर पानीको निकास खोल्नका लागि एकले अर्कालाई दोष थोपर्ने कार्यले सास्ती भोग्दै आएको स्थानीयको भनाइ छ ।
वर्षौँ पहिलेदेखि वर्षाको पानी बग्दै आएको निकास थुन्नेलाई कारबाही गरिनुपर्ने स्थानीय बजारवासीको माग छ । केहि सीमित व्यक्तिहरूको अवरोधका कारण यात्रु, विद्यार्थी, सर्वसाधारणले निकै सास्ती खेप्दै आएका स्थानीय बताउँछन् ।
पानीको निकास नहुँदा नै सार्वजनिक शौचालय प्रयोगविहीन बनेको छ । शौचालयको पानी बगेर डुबान भएको क्षेत्रमा पुग्दा पानीजन्य संक्रामक रोग फैलिने सम्भावना पनि उत्तिकै रहेको छ । बजार क्षेत्रको सडक मात्र नभएर वर्षात्को पानी स्थानीय व्यवसायीका पसलभित्र पस्ने गरेको छ ।




