रौतहट । रौतहट स्थित विपदको घटनामा परेर १ वर्षमा ३८ जना मानिसको मृत्यु, १ बेपत्ता भएका छन् भने ५० जनाभन्दा बढी घाइते हुनुका साथै करोडौंको क्षती भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विपद जन्य घटनामा परेर ३८ जनाको ज्यान जानुका साथै करोडौंको क्षती भएको हो । एक वर्षमा सबैभन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको छ ।
पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् । त्यस्तै, २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाइते भएका छन् ।
आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाइते भएका थिए । आगलागीबाट १४ पक्की घर, ९१ कच्ची घर, ११ सार्वजनिक घर, १० गोठ र घरभित्र रहेको अन्नपात, लत्ता कपडा तथा घर गरी कुल १४ करोड ४१ लाख १२ हजार २३२ रुपैयाँ बराबरको क्षती भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यसैगरी अविरल वर्षासँगै १४ वटा विभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु, १ बेपत्ता, ३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षती भएको थियो । गत आर्थिक वर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाइते भएका थिए ।
सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु, १ घाइते र सर्पदंशबाट २ जनाको मृत्यु भएको थियो ।
गत आर्थिक वर्षमा कुल ३२५ वटा भएको विपद जन्य घटनाबाट १२ करोड ५७ लाख ८९ हजार ७३२ बराबरको क्षती एवम् २ हजार ७२ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताए । उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ती परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आर्थीक वर्षमा जिल्ला विपद व्यवस्थापन समिति एवम् जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप वितरण गरिएको सिडियो हिरालाल रेग्मीले जानकारी दिए । अविरल वर्षासँगै आउने बाढीको समय सचेत रहन तथा बालबालिकालाई निगरानी गर्न प्रहरीले सूचना मार्फत पटक पटक आग्रह गर्दै आएको छ ।




