म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ आङ्खखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गंगटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए ।
वि.सं. २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका ९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । मीनाको हत्यापछि जंगलमा शव गाडिएको हुन सक्ने आफन्तहरूको भनाइ छ ।
मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका ९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बेपत्ता मीना, कंकाल, सामग्री र थुनामा रहेका युवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए ।






