कास्की । धारिलो हतियार देखाई सुनको सिक्री र नगद लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका १८ बस्ने ३७ वर्षीय देवन गुरूङ, सोही ठाउँ बस्ने १९ वर्षीय आजित रूचाल भन्ने हितमान सार्की, सोही महानगरपालिका ५ बस्ने तनहुँ ब्यास नगरपालिका ३ घर भएका १८ वर्षीय किशोर, पोखरा महानगरपालिका ४ गणेशटोलस्थित विकास सुनचाँदी पसलका संचालक नारायण प्रसाद विक र एसपि मान्मा ज्वलेर्सका संचालक प्रशान्त मान्मा रहेका छन् ।
पोखरा महानगरपालिका ६ लेकसाईडस्थित बाटोमा हिँडिरहेकी २० वर्षीया महिलाको २ तोला बराबरको सुनको सिक्री १ थान, नगद १२ हजार रूपैयाँ र ज्याकेट आइतबार स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले चक्कु देखाई डर त्रासमा पारी लुटी फरार रहेको भन्ने सूचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनामा संलग्न आजित, हितमान र १८ वर्षीय किशोरलाई सिक्री बेचेर आएको नगद १ लाख ३ हजार ५ सय रूपैयाँ, घटनामा प्रयोग भएको ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा नारायण प्रसाद र प्रशान्तले सुनको सिक्री खरिद गरेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






