जनकपुर । नयाँ कमला पुल निर्माणको माग गर्दै सामूहिक आमरण अनशन बसेका सङ्घर्ष समितिसँग मधेस प्रदेश सरकारले सहमति गरेको छ । नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिराहा–धनुषासँग पुल निर्माण गर्ने प्रदेश सरकारले चार बुँदे सहमति गरेको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंहले सरकारको तर्फबाट आमरण अनशन बसेका समितिसँग चाँडै कामको थालनी गर्ने प्रतिबद्धतासहित लिखित सहमति गरेका हुन् ।
सङ्घर्ष समितिका संयोजक प्रवीणकुमार यादवसँग मुख्यमन्त्री सिंहले सहमति गर्दै चार दिन सुरु भएको आमरण अनशन स्थगित गर्न लगाएका हुन् । सङ्घर्ष समितिसँग मुख्यमन्त्री सिंहले नयाँ पुलको निर्माण गरिने पहिलो बुँदामा सहमति गरेका हुन् ।
यसैगरी नयाँ कमला पुलका लागि आवश्यक बजेट आव ०८२/०८३ को वार्षिक बजेट सङ्घ सरकारबाट राख्न पहल गर्ने नभएमा सम्पूर्ण बजेट प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ ।
यस्तै अन्य बुँदाहरूमा भने ०८१ सालको मङ्सिर महिनादेखि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिराहा–धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजैको मितिबाट स्थगित गर्ने सहमति भएको छ ।
सरकार पक्ष र आन्दोलनरत पक्षसँग सहमति भएपछि आजदेखि आमरण अनशनका सम्पूर्ण कार्य स्थगित गरिएको सङ्घर्ष समितिले जानकारी दिएको छ । यही ४ गतेदेखि सङ्घर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनशन सुरु गरेका थिए ।




