जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार अबेर राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक छड्के निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंहले यो निरीक्षण बिरामीहरूको उपचारमा भइरहेको ढिलासुस्ती र हेलचेक्रयाइँ बारे गुनासो आएपछि राति ११ बजे गरेको हुन् ।
मुख्यमन्त्री सिंहले आकस्मिक कक्ष, प्रसूति गृह, र अतिसघन कक्षजस्ता अस्पतालका विभिन्न क्षेत्रहरूको निरीक्षण गरे । उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्ति, तिनीहरूको कार्यविभाजन, काम गर्ने अवधि र ड्युटीमा नियमितता जस्ता विषयमा विस्तृत जानकारी लिए ।
निरीक्षणका क्रममा उनले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयभित्र नियमित र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए । उनले चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूलाई ड्युटीमा नियमित उपस्थित रहन र बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही नगर्न चेतावनी दिए ।
मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा रहेको सरकारी फार्मेसीको पनि निरीक्षण गर्दै त्यहाँ आवश्यक औषधि उचित मात्रामा उपलब्ध गराउन निर्देशन दिए । उनले औषधिको सूची अनुसार कुनै अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई विशेष ध्यान दिन आदेश दिए ।
निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवा सुविधा बारे कुराकानी गरे । रातको समयमा जनशक्ति अभाव, उचित रेखदेखमा कमी र अस्पताल भित्रका फार्मेसीमा औषधिको अभाव बारे आएका गुनासाहरूपछि मुख्यमन्त्री सिंहले प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई ती समस्या समाधान गर्न निर्देशन दिए ।
मुख्यमन्त्री सिंहले हाल अस्पतालमा बिरामीको संख्या बढिरहेको र यसका लागि भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । रातमा गरिएको यो निरीक्षणपछि बिरामी र तिनका कुरुवाहरूले मुख्यमन्त्रीको यो कदमप्रति खुसी व्यक्त गरेका छन् ।




