सर्लाही । लगातारको वर्षाले चुरे क्षेत्रको उत्तरी भागका दर्जनौँ गाउँमा रहेका गोरेटो बाटाहरु भत्किएपछि स्थानीय बासिन्दाको दैनिकी अत्यन्तै कठिन बनेको छ । लालबन्दी, इश्वरपुर, हरिवन र बागमती नगरपालिकाका चुरे क्षेत्रमा पर्ने बस्तीका बाटाहरु क्षतिग्रस्त हुँदा जनजीवन प्रभावित भएको हो ।
बाढीले बाटा भत्काएपछि एक गाउँबाट अर्को गाउँमा पुग्न समेत समस्या परेको स्थानीयले गुनासो गरेका छन् । उत्तरी चुरे क्षेत्रका गाउँमा पैदल यात्रा पनि मुश्किल बनेको छ भने मोटरसाइकल, जीप, बस लगायतका सवारीसाधन चल्न सक्ने अवस्था छैन ।
लालबन्दी नगरपालिकामा पर्ने लखन्देही र बाहुनी जस्ता खोलामा बाढी आउँदा बाटो बिग्रिएको छ, जसका कारण पछिल्लो तीन महिनादेखि सवारीसाधन सञ्चालनमा असम्भव भएको छ । व्यवसायीहरूले पानी घटेको बेलामा ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गरेपनि यात्रुवाहक बसहरू भने जेठदेखि नै पूर्णरूपमा ठप्प छन् ।
पत्थरकोट हुँदै सिन्धुलीको मरिन, छाप, कर्मैयाबाट हरिहरपुरगढीसम्म बस चल्ने गरे पनि अहिले त्यो सम्भव छैन । लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोलाबाट पत्थरकोटसम्मको यात्रा गर्दा खोला पार गर्नुपर्ने बाध्यता रहेको छ । गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका बासिन्दाहरू लालबन्दी बजार वा अन्य ठाउँसम्म पुग्न ४/५ घण्टा पैदल हिँड्नुपर्ने भएको छ ।
गाडी नचल्दा स्थानीयहरूलाई विद्यालय जाने विद्यार्थीहरूदेखि लिएर बिरामी परेका मानिसहरूलाई औषधि उपचारका लागि लालबन्दीसम्म आउजाउ गर्न गाह्रो भइरहेको छ । नारायण खोलामा बाढीले मोटरसाइकल समेत लिएर जान कठिन भएको छ । यसले गर्दा चुरे क्षेत्रका सर्वसाधारणको दैनिकी कष्टकर बनेको भन्दै स्थानीयहरूले निरन्तर गुनासो गर्दै आएका छन् ।




