सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा निर्माण भएको सडकको कालोपत्रे ८ महिनामै उप्किएको छ । ईश्वरपुर नगरपालिका ६ स्थित धन्जोर टोलदेखि फूलजोर थान मन्दिर परिक्रमा गर्दै क्याम्पस चोकसम्मको कालोपत्रे सडक निर्माण सम्पन्न भएको ८ महिनामै उप्किएको हो ।
करिब २ किलोमिटर कालेपत्रे गर्न आचार्य निर्माण सेवाले रु करिब ५५ लाखमा नगरपालिकाको रकमबाट ठेक्का लिएको थियो । सो क्षेत्रमा करिब ७ सय मिटर कालोपत्रे हुन बाँकी रहेको छ । पिच भएको सडक अधिकांश भाग उप्किन र भत्किन थालेको छ ।
उहाँका अनुसार बालुवा भुटेर हाल्ने इस्टिमेटमा नरहेको भएपनि आफुले बालुवा समेत हालेको बताउनु भयो । निर्माण सम्पन्न भएको करिब ८ महिना मै कालोपत्रे उप्किनु र भत्कीनुमा नगरपालिका पनि जवाफदेही हुनु पर्ने स्थानियको भनाई छ ।
निर्माण सम्पन्न भएको कालोपत्रे डेढ वर्षसम्म सोही निर्माण कम्पनीले बनाउनु पर्ने कानुनी व्यवस्था रहेको ठेकेदार आचार्यले बताउनु भयो “रु २६ करोडमा लिएको ४ इन्च कालोपत्रेको ठेक्का समेत पानीले बगाएको, यो त एक इन्चको हो बगाइहाल्छ नि ।” उहाँले आफूले जिम्मा लिएको सडकको अधिकांश भाग (मोड) टर्निङ परेको र ठूला मालवाहक सवारी साधनहरुले (मोडमा) टर्निङमा ब्रेक हान्दा सडक बिग्रिएको उहाँको भनाई छ ।
तर इश्वरपुर नगरपालिका ६ का वडाध्यक्ष महमद रहमन अन्सारीले “यो सडक निर्माणको ठेक्का लगायत सबै काम नगरपालिकाले लगाएको र आफूहरूले मात्र ठाउँ देखाइ दिएको बताउँदै पन्छीनु भयो । उहाँले, ‘योजना नगरपालिकाको हो, गुणस्तरको काम हेर्ने प्राविधिकले हो, हामीले यस बारे के भन्न सक्छौं र ?’ बताउनु भयो ।
यता, नगर प्रमुख मनोज कुमार देवकोटाले कोभिडका कारण नगरका केही योजनाहरू रोकिएका र यो समयमा टिपरलगायत ठूला मालावाहक सवारी साधनहरु चल्नाले पनि सडकलाई भार बढी परेको बताउनु भयो ।” ‘वर्षाको बेलामा कालोपत्रे बिग्रियो, यस वर्ष बढी पानी परेकाले यस्तो भएको हुन सक्छ ।’ नगर प्रमुख देवकोटाले बताउनु भयो ।
वर्षा लागेसँगै कालोपत्रे धस्सिन थालेपछि काम गुणस्तरहीन हुन थालेको भन्दै त्यस ठाउँका स्थानीय आक्रोशित हुन भएका छन् । आचार्य निर्माण सेवाले निर्माण गरेको काममा अनियमितता गरेको र गुणस्तरहिन काम गरेका कारण सडक उप्किएको स्थानियको आरोप छ ।
कालोपत्रे गरिएको सडकमा नयाँ माटो रहेका कारण सडक भासिएको निर्माण कम्पनीका ठेकेदार सिताराम आचार्यले स्विकार गर्नु भयो । उहाँले वर्षा लागेसँगै पानीको भेलले कालोपत्रे उप्किएको र यसको मर्मतको जिम्मेवारी आफूले लिनुपर्ने कानुनी व्यवस्था रहेको बताउनु भयो ।






