राजविराज । १६ वर्षीया नितु राय बेहोस भइ स्वर गुमाएपछि उनका पिता भोरील रायलाई छोरीको उपचारका लागि आर्थिक समस्याले सताएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीकी नितु गाउँकै जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । गत साउन ३१ गते विद्यालयबाट घर फर्केपछि उनी अचानक बेहोस भइन् ।
नितुलाई तुरुन्तै रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरियो, तर १० दिनसम्म राख्दा पनि सुधार नआएपछि उनलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो । त्यहाँ पनि तीन दिनपछि चिकित्सकहरूले उपचार सम्भव नभएको बताउँदै नितुलाई डिस्चार्ज गरेका थिए ।
भोरील रायका अनुसार, अस्पतालले नितुको रोग जटिल भएको भन्दै तत्काल बाहिर लैजान सल्लाह दिएको छ । हालसम्म राजविराज र धरानमा ऋण लिएर उपचार गराएपनि अब आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएको छ ।
नितुको बेहोस हुनु र स्वर गुमाउनुको कारण बारे चिकित्सकहरूले केही स्पष्ट जवाफ नदिएको भोरीलले बताए । पछिल्ला ५–६ दिनदेखि नितुको घाटी दायाँ बायाँ घुम्न छाडेको छ, जसलाई चिकित्सकहरूले विचित्र खालको रोग भनेका छन् ।
आर्थिक कठिनाइले पिरोलिरहेको भोरीलले गाउँघरका साहु महाजनसँग फेरि ऋण मागेर वा दाताहरूको सहयोग पाए, नितुलाई भारतको पटना वा दिल्लीमा उपचार गराउने योजना बनाएका छन् । छोरीको उपचारका लागि परिवारले सहयोगको याचना गर्दै दाता तथा संघ संस्थाहरूबाट केही सहयोग मिल्ने आशा व्यक्त गरेका छन् ।




