काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बागमती प्रदेशको काठमाडौं र चितवन लगायत १४ जिल्लामा कोरोना संक्रमण बढेको बताए ।
प्रदेश १ को इलाम, खोटाङ, झापा र धनकुटा, गण्डकी प्रदेशमा कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको प्युठान, कर्णाली प्रदेशको डोल्पा र मुगु तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, बझाङ र बाजुरामा संक्रमण बढेको छ ।
मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला क्रमशः घट्दो क्रममा छ । मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ९ वटा छन् ।
प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन तथा गण्डकी प्रदेशको कास्की जिल्ला ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन् ।
आइतबारसम्म २०० भन्दा माथि र ५०० भन्दा तल सक्रिय संक्रमित रहेका जिल्ला २४ वटा छन् । २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा प्रदेश २ को धनुषा, सप्तरी, बारा र पर्सा, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ, म्याग्दी, तनहुँ र नवलपरसी (पूर्व) छन् ।
यसैगरी लुम्बिनी प्रदेशको रुपन्देही, बर्दिया, पाल्पा, दाङ, बाँके र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशको सुर्खेत र जुम्ला तथा सुदूरपश्चिमको केलाली र कञ्चनपुर छन् ।






