महोत्तरी । महोत्तरीको जलेश्वरमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले जानकारी दिएअनुसार, पछिल्ला दुई दिनमा स्याल र कुकुरको आक्रमणका कारण १४ जना घाइते भएका हुन् ।
घाइतेहरूलाई जलेश्वरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जसमा तीन जनालाई गम्भीर अवस्थामा जनकपुर रेफर गरिएको छ । स्वास्थ्यकर्मी राजीवकुमार पाठकका अनुसार, गम्भीर घाइतेको थप उपचारका लागि जनकपुर पठाइएको हो ।
जलेश्वर नगरपालिका ३ मलिवाराका ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीपकुमार मण्डल, र सात वर्षीय अर्पितकुमार महतोलाई स्यालले आक्रमण गर्दा घाइते बनाएको हो । यस्तै, जलेश्वर नगरपालिका ६ का ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी र १२ वर्षीया सङ्गीता मण्डल पनि स्यालको आक्रमणबाट घाइते भएका छन् ।
जलेश्वर नगरपालिकाको ३ र ६ नम्बर वडामा विगत दुई दिनदेखि स्यालले आतङ्क मच्चाइरहेको छ । साँझपख वा एकाबिहानै वन क्षेत्रको बाटो भएर आउजाउँ गर्नेहरूलाई स्यालले आक्रमण गरिरहेको छ । यसैबीच, जिल्लामा कुकुरको टोकाइबाट पनि सात जना घाइते भएका छन् ।
कुकुरले घाइते बनाएका व्यक्तिहरूमा जलेश्वर नगरपालिका २ की ६० वर्षीया सागर देवी, ४० वर्षीय विलास साह, जलेश्वर नगरपालिका १० की ६९ वर्षीया निर्मला देवी, ६४ वर्षीय रासिद अन्सारी, बलवा नगरपालिका ३ का ३७ वर्षीय जुगेश्वर यादव र लोहारपट्टी नगरपालिकाका ५३ वर्षीय नसरुद्दिन राईन रहेका छन् ।
प्रादेशिक अस्पताल जलेश्वरका अनुसार, स्याल र कुकुरको टोकाइबाट घाइते भएकाहरूलाई आवश्यक एन्टिरेबिज भ्याक्सिन ५० जनालाई पुग्ने मात्रामा उपलब्ध छ, तर अनुहार, मुख र ओठमा गम्भीर घाउ भएका तीन जनालाई ‘इमिनो ग्लोबिन’को आवश्यकता परेको छ, जुन अस्पतालमा उपलब्ध नभएकाले उनीहरूलाई जनकपुर पठाइएको हो ।
स्याल र कुकुरको टोकाइबाट घाइते भएकाहरूलाई एन्टिरेबिज भ्याक्सिन (एआरभी) को तीन तीन डोज लगाउनु पर्ने हुन्छ । जिल्लामा स्याल र कुकुरको आतङ्क बढेपनि कुनै निकायले नियन्त्रणका लागि पहल गरेको छैन ।




