राजविराज । राजविराजको रुपनी मोडमा रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा स्थानीय र सवारी चालकलाई ठूलो समस्या भइरहेको छ । मुख्य बजारको सडक जीर्ण अवस्थामा रहेर ठूला खाल्डाहरू परेका छन्, जसका कारण मर्मत कार्य नहुँदा नागरिकले दैनिक सास्ती खेप्नु परेको छ ।
माइक्रोबस चालक सत्यदेव यादवका अनुसार हुलाकी राजमार्गसमेत पर्ने यो सडकमा माटो र ग्राभेल हाल्दा वर्षायाममा हिलो बन्छ र पुनः खाल्डाहरू पर्न थालेका छन् । यसले गर्दा समस्या झन् जटिल भएको छ । रुपनी मोडदेखि हनुमान मन्दिरसम्मको करिब एक सय मिटर सडकको अवस्था अत्यन्तै खराब रहेको र वर्षात मात्र नभई अन्य समयमा पनि दुर्घटनाको जोखिम रहेको उनले बताए ।
यही सडक भएर राजविराजबाट काठमाडौँलगायत स्थानमा बस सेवा सञ्चालन हुने हुँदा बस व्यवसायी विजय दासले पनि सडकको दयनीय अवस्थाले दैनिक साना-ठूला दुर्घटनाहरू हुने गरेको बताएका छन् । दासले यस खण्डको तत्काल मर्मत र पुनर्निर्माण गरी आवतजावत सहज बनाउन माग गरेका छन् ।




