महोत्तरी । एक महिलाको ज्यान लिएको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको ज्यान लिएको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
गत जेठ २० गते सुजिताको आफ्नै कोठामा ज्यान गएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको ज्यान लिएको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको स्वीकार गरिसकेका छन् ।
देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्याइ घाँटी समेत थिचेर ज्यान लिएको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
ज्यान लिएपछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृतकका ससुरा पतिराम ठाकुरको खेतमा शव गाडेको थियो ।
घटना बारे गाउँमा चर्चा हुन थालेको र प्रहरी समेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट गहिरो खाल्डो खनेर उनको शव राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरिएको थियो ।
प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । रासस






