काठमाडौं । विशेष अदालतले कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनालाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ । अदालतले उनीहरूविरुद्ध पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सबै प्रतिवादीलाई दोषमुक्त ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ असार २० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
२०७९ जेठ १५ गते कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारस्थित सामुदायिक भवनमा टायल्स राख्ने काममा भ्रष्टाचार भएको आरोप थियो । अख्तियारले नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि कमसल काम गरी अनियमितता गरिएको दाबी गरेको थियो ।
मुद्दा दायर भएसँगै नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, तत्कालीन कार्यालय प्रमुख, इन्जिनियरहरू र अन्य कर्मचारीहरू निलम्बित भएका थिए । विशेष अदालतले सफाइ दिएपछि उनीहरूको निलम्बन फुकुवा गरिएको छ ।
२०७८/०७९ आर्थिक वर्षमा जमुनिया बजारस्थित सामुदायिक भवनमा टायल्स र फ्लोरिङका लागि विनियोजित बजेटमा अनियमितता भएको आरोप थियो । अख्तियारको अनुसन्धानले स्वीकृत लागतभन्दा कमसल काम गरी १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसाको अनियमित भुक्तानी भएको बताएको थियो ।
उपभोक्ता समितिले अधुरो भवनमा कम काम गरेर बढी देखाइ भुक्तानी लिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । मुद्दामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह र मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह संलग्न थिए ।




