सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित श्री जनहित आधारभूत विद्यालयमा प्रधानाध्यापक सरिता कुमारी मण्डलको लापरवाहीका कारण विद्यालयको पठनपाठन गम्भीर रूपमा प्रभावित भएको छ ।
विद्यालयका शिक्षक र प्रधानाध्यापकबीचको विवादले शैक्षिक गुणस्तरमा असर परेको भन्दै अभिभावकहरूले असन्तोष जनाएका छन् । अभिभावकहरूका अनुसार, मण्डलले आफ्नो ध्यान शिक्षणमा भन्दा पनि व्यक्तिगत विवादमा केन्द्रित गरिरहेको आरोप छ ।
विद्यालयका शिक्षक सिबेन्द्र यादवसँगको विवादले दुई महिनादेखि विद्यालयको शैक्षिक क्रियाकलाप अस्तव्यस्त बनेको छ । मण्डल करार सेवामा कार्यरत छन्, तर आफ्नो जिम्मेवारीलाई उचित रूपमा निर्वाह नगर्दा विद्यालयका २८० नामांकित विद्यार्थीहरूमध्ये ८० देखि १०० विद्यार्थीमात्र नियमित विद्यालयमा उपस्थिति हुने गरेका छन् ।
विद्यालयमा शिक्षकहरूको अभावले गर्दा पठनपाठनमा समस्या भएको मण्डलले स्वीकार गरेकी छन् । उनीसहित केही अस्थायी शिक्षक र कार्यालय सहयोगीहरू मिलेर विद्यालय सञ्चालन गरिरहे पनि शिक्षकको कमीले पठनपाठन व्यवस्थित हुन नसकेको उनी बताउँछिन् ।
विद्यालयमा बालविकास कक्षाका विद्यार्थीहरूको लापरवाहीपूर्ण अवस्था देख्दा अभिभावकहरू चिन्तित बनेका छन् । विद्यार्थीहरूलाई पढाउनुपर्ने समयमा खेल्न, सुत्न, वा रुन दिनु अनुगमनको अभावको उदाहरण हो ।
पाँच दिनदेखि विद्यार्थीहरूको हाजिरीसमेत रजिस्टरमा अद्यावधिक नभएको पाइएपछि अभिभावकहरूले प्रधानाध्यापकको जिम्मेवारीमाथि प्रश्न उठाएका छन् । स्थानीय अभिभावक रामजतन साहका अनुसार, विद्यालयमा नियमित पठनपाठन नहुँदा विद्यार्थीहरूको भविष्य अनिश्चित बन्दै गएको छ ।
साहले आफ्ना दुई छोराछोरीलाई अर्को विद्यालयमा पठाउने सोच बनाएको बताए । गोलबजार नगर शिक्षा शाखाका प्रमुख सुवोध लामाका अनुसार, अभिभावकहरूले गुनासो गरिसकेका छन् । शाखाले एक जना अंग्रेजी शिक्षकलाई विद्यालयमा पठाए पनि प्रधानाध्यापकले उनलाई हाजिर गर्न अस्वीकार गरेको आरोप छ ।
यसबिच, प्रधानाध्यापक मण्डलले आफ्नो पद सुरक्षित राख्न उच्च अदालत राजविराजमा मुद्दा दायर गरेकी छिन्, जसले विद्यालयको व्यवस्थापन थप अस्थिर बनाएको छ । स्थानीय बुद्धिजीवीहरूका अनुसार, तराई क्षेत्रमा विद्यालयहरूमा राजनीतिकरणको बढ्दो प्रभावले शैक्षिक गुणस्तरमा नकारात्मक असर पारिरहेको छ । शिक्षक र राजनीतिककर्मीहरूको आपसी विवादले शैक्षिक अवस्था कमजोर बनाएको उनीहरूको धारणा छ ।




