दैलेख । दैलेखको नारायण नगरपालिकामा एकै हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृतको फेरबदल भइरहनु सामान्य बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २७ मा उपसचिव भूपेन्द्र पाण्डेयलाई नारायण नगरपालिकामा सरुवा गरेको थियो, तर असोज ४ मा यो निर्णय बदर गर्दै शाखा अधिकृत रेशमबहादुर बुढालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइयो ।
नगरपालिकामा हप्तैपिच्छे हुने सरुवामा राजनीतिक दबाबको प्रभाव देखिएको छ । उपसचिवहरूले सरुवाको प्रस्ताव अस्वीकार गर्न थालेका छन्, भने नगरप्रमुखले इच्छुक उपसचिवलाई रोक्न थालेपछि शाखा अधिकृत बुढा पुनः प्रमुख प्रशासकीय अधिकृत बनेका हुन् ।
नारायण नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतहरूले राजनीतिक हस्तक्षेपका कारण काम गर्न कठिन हुने गुनासो गरेका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत दीपक आर्चाय र नगरप्रमुखबीच विवाद हुँदा काम गर्ने वातावरण नै अवरुद्ध भएको थियो ।






