रौतहट । रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । स्थिति गम्भीर बनेपछि प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली शनिबार प्रभावित क्षेत्रमा खटिएको छ ।
टोलीमा अध्यक्ष महमद अनवर हाशमी, इमर्जेन्सी इन्चार्ज डा. राजेशकुमार सिंह र डा. गोपाल गुप्ता पनि छन्, र उनीहरूले आवश्यक औषधि र सामग्री लिएर काम गरिरहेका छन् । स्वास्थ्य चौकी राजपुरमा पछिल्लो दुई दिनमा २२ जना बिरामी उपचारका लागि उपस्थित भएका थिए ।
तीमध्ये ७ जनाको नमुना परीक्षणका लागि गौर पठाइएको छ, जहाँ आरडिटी परीक्षणबाट ६ जनामा हैजाको किटाणु फेला परेको पुष्टि भएको छ । स्वास्थ्य संयोजक आलमका अनुसार, राजपुरका वडा ३ र ४ मा झाडापखालाको प्रकोप तीव्र छ ।
हाल अस्पतालमा १८ जना बिरामी उपचार गराइरहेका छन्, जसमा १० जना महिला, ७ बालबालिका र एक पुरुष छन् । बाँकी ४ जना भने उपचारपछि घर फर्किसकेका छन् ।




