महोत्तरी । बर्दिवास नगरपालिकाका पुर्व नगरप्रमुख विदुर कार्कीले भारतको हरियानावाट मुर्रा जातको ११ वटा रागाँहरु लिएर आउँदा नगर क्षेत्रमा ट्रोल नै बन्यो । ‘३ वर्ष अगाडि निक्कै चर्को आलोचना खेप्नुपर्यो ।’ कार्कीले सम्झदै भने । ‘तर म अडिग थिए कि यिनै राँगाहरुबाट किसानहरुको आर्थिक उपार्जनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।’
तत्कालिन समयमा उनले किसानहरुको जिवनस्तर माथी उकास्न बनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले धमाधम देखिन थालेपछि आलोचना गर्नेहरु आजकाल प्रशंसा गर्न थालेका छन् । झन्डै ३३ लाख खर्चेर ल्याएका ११ वटा राँगाहरुबाट गर्भधारण गरेका ५ हजार भैसीहरुले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानहरुको गोठहरुमा बाक्लै देखिन थालेका छन् ।
राँगाहरुको विर्यबाट कृतिम गर्भाधानभन्दा पनि अहिले किसानहरुले भैसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन् ।’ स्थानिय युवा किसान विवेक अधिकारीले भने । ‘दूध बढी उत्पादन हुने भएकाले अहिले अधिकांश किसानहरुको रोजाई मुर्रा जातको भैंसी नै बनेको छ, मैले पनि नगरबाट ल्याएको एउटा राँगो पालेको छु । वार्षिक ३ सय भैंसी हाम्रै राँगोबाट गर्भाधान भएको छ ।’
एउटा मुर्रा भैसीले १ वेतमा २ हजार देखि ३ हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्वपूर्ण आधार बनेपछि नगर क्षेत्रमा कतिपय किसानहरुले हरियाना पुगेर यो जातको भैंसी ल्याएका छन् । पुर्व नगरप्रमुख कार्कीले त भारतबाट यहीँ जातको भैंसी ल्याएर व्यवसायिक भैसीपालन गरेका छन् ।
उनको गोठमा अहिले १५ वटा भन्दा बढी भैंसी छन् । यिनै भैसीबाट उत्पादन भएका पाडा पाडीहरुको कारण पनि नगर क्षेत्र मुर्रामय बन्दै गएको छ । एक तथ्यांक अनुसार अहिले नगर क्षेत्रमा ६ हजारभन्दा बढी भैंसी उत्पादन भइसकेका छन् । किसानहरुलाई प्रति वडामा वितरण गरिएको ११ वटा राँगाबाट वार्षिक औसतरुपमा ३ हजार भैंसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खडकाले बताए ।
यही अनुपातमा शत प्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाना, पंजाव जस्तै मुर्रा उत्पादनको हव बन्न सक्ने पशु चिकित्सकहरुको आकलन छ । एउटा भैसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसबाट उत्पादन भएका राँगा र पाडाहरुको मूल्य समेत उच्च रहेको हुँदा अन्य जातको भैसीहरुको तुलनामा यो भैंसी प्रती आकर्षण बढ्दै गएको छ ।
‘मैले पनि पुर्व नगरप्रमुख विदुर कार्कीसगैँ गएर एउटा भैंसी ल्याएको थिए । मेरो घर व्यवहार यसैबाट चलेको छ ।’ स्थानिय युवा नेता निरोज अधिकारीले भने । ‘दैनिक यो भैंसीले १४ लिटर दूध दिन्छ, एउटै भैसीबाट मलाई पारिवारिक आधारभुत आवश्यक्ता परिपुर्ति गरेर केही पैसा बचाउने आधार समेत बनेको छ ।’
पुर्व नगरप्रमुख कार्कीले त्यतिबेला बनाएका योजनाहरुको अहिले परिणाम आएको देख्दा खुसी लागेको बताउँदै अधिकारी जनप्रतिनिधिहरुले किसानहरुको आधारभूत समस्या पहिचान गरेर योजना बनाउनु पर्ने बताउँछन् ।
तर नगरप्रमुख कार्कीले मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन । उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानहरुलाई उपलब्ध गराउने उनले योजना बनाएका थिए ।
मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगाहरुलाई नगरले नै संरक्षण गर्ने भनिएतापनि व्यापक विरोध आएपछि उनले किसानहरुलाई वितरण गरेका थिए ।
‘११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउंन सकिने र किसानहरुलाई नश्ल सुधार अभियानमा लगाउने योजना बनाएको थिए ।’ उनले भने । ‘भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उदेश्य जे होस परिणाममा नै देखिदै छ ।’




