काठमाडौं । मधेश प्रदेश लोकसेवा आयोगमा कार्यरत एक लेखपालले आफ्नो श्रीमती र नातेदारलाई सफल बनाएको र अन्य उम्मेदवारलाई असफल गराएको आरोपमा अख्तियारमा उजुरी परेको छ । लेखपाल राम प्रवेश यादवले पदीय दुरुपयोग गर्दै आफ्ना नातेदारलाई पास गराएको र अन्यलाई फेल गराएको भन्ने उजुरी दर्ता गरिएको हो ।
उक्त घटना प्रदेश लोकसेवा आयोगको विज्ञापन नम्बर १३१-०७९/८० अन्तर्गत खुल्ला तर्फको परीक्षा सन्दर्भमा भएको हो । सहायक लेखापाल यादवले आफ्नो पदको दुरुपयोग गर्दै शिक्षा प्रशासन निरीक्षण समूहको सहायक पाँचौ तहको प्राविधिक पदमा आफ्नी श्रीमती सोनापति देवी यादव र भाउजु मोनिका यादवलाई पास गराएको र अन्य परीक्षार्थीलाई फेल गराएको आरोप छ ।
उजुरीकर्ताले यादवले जालझेल र पदको दुरुपयोग गरेर नियुक्ति दिलाएको भन्दै यसको छानबिन र अनुसन्धान गर्न आग्रह गरेका छन् । निवेदकहरूले यादवविरुद्ध आवश्यक कारवाही गरी उक्त परीक्षा रद्द गर्न र पुन: परीक्षा दिन पाउने व्यवस्था गर्न पनि माग गरेका छन् ।




