सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा निर्माणाधीन मुसहर बस्ती काम पूरा नहुदै बीचैमा रोकिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको मुसहर बस्तीको निर्माण कार्य रोकिएको छ ।
प्रतिनिधि सभा सदस्य सर्लाही निर्वाचन १ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साहको पहल र स्थानीय रामनरेश शाहको निगरानीमा काम सुरु भएको थियो । तर, प्रतिनिधि सभा सदस्य साहले कमिसन मागेपछि कामले गतिलिन नसकेको स्थानियबासीको भनाई छ ।
स्थानियका अनुसार काम पनि बीचमै रोकिएको छ । अहिले काम नहुँदा मुसहर बस्तीमा स्थानीय चिन्तित बन्न थालेका छन् । बस्न पाइने आशमा रहेका मुसहर समुदाय यतिबेला जनता आवासले दिने भनेको तीनकोठे पक्की घर सपना मात्र भएको बताउन थालेका छन् ।
हाल उनीहरू घरको आशमा त्रिपाल ओडेर रात बिताउन बाध्य भएका छन् । एक घर बराबर करिब रु ३ लाख ८६ हजार बजेट छुट्टाइएको भए पनि काम सुरु भएको ७ महिनासम्म पनि काम सम्पन्न नहुँदा उनीहरू मारमा परेका हुन् ।
घर बनाउँदा ठेकेदार तथा मिस्त्रीले तीन दिन काम गरे बापत एउटा सिङ्गै कुखुरा र रक्सी लिने गरेको गुनासो एक स्थानियले बताएका छन् । आफ्नो घर निर्माण गर्न सोही घरका सदस्यले श्रमदान गरेका भए पनि घरको ठेक्का लिएका ठेकेदार तथा मिस्त्री नआउने गरेका उनीहरूले गुनासो छ ।
यता, सम्बन्धीत मन्त्रालयमा रकम नरहेका कारण जनता आवासको काम तिब्र गतिमा अघि नबढेको जनता आवासका ठेकेदार रामनरेश मण्डलले बताएका छन् ।
चालु आर्थिक वर्षमा नै निर्माण सक्ने गरि इश्वरपुर नगरपालिका ६ मा १७ वटा घरहरु निर्माण शुरु गरिएको भएपनि हाल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । वर्षामा पक्की घरमा बस्ने सपना बोकेका सुकुम्वासी मुसहर समुदायका मानिसहरु अहिले पनि त्रिपाल मुनी बस्न बाध्य भएका छन् ।






