महोत्तरी । गौशाला नगरपालिका ८ कुसमारीमा रहेको सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोरको बाढीले बगाएर मृत्यु भएको छ भने एक बालिका जीवितै उद्धार भएको छ ।
आज दिउँसो करिब १ बजे, स्थानीय नारायण साहका १६ वर्षीय छोरा रोहन साह र नागेन्द्र महतोकी ११ वर्षीया छोरी करिना महतो बाढीको दृश्य हेर्न खोलामा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार, बाढीले उनीहरूलाई बगाएको थियो ।
बालिका करिना महतोलाई प्रहरीले बाढीले बगाएर लगेको ५०० मिटर तल झाडीबाट जीवितै उद्धार गरेको हो । तर, किशोर रोहन साहको भने खोलामा साढे तीन किलोमिटर तल शव भेटिएको थियो । रोहनको मृत्यु दिउँसो ४ बजे भएको पुष्टि भएको छ ।
यस्तै, बर्दिबास नगरपालिका ११ मा पर्ने खयरमारा नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा करिव २१ वर्षीय एक पुरुषको शव भेटिएको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।




