रौतहट । समयमा नगर सभा नगरेको असन्तुष्टिमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका जनप्रतिनिधिहरूको गाडी र मोटरसाइकल स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
स्थानीयहरूले असन्तोष व्यक्त गर्दै नगर प्रमुखको जिम्मेवारी सम्हालिरहेकी उपप्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत गुप्ता र दुई वडाध्यक्षको दुई मोटरसाइकल इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएका हुन् ।
विकास निर्माणका कामहरू ठप्प परेको भन्दै गत दुई आर्थिक वर्षदेखि असन्तुष्ट स्थानीयहरूले जनप्रतिनिधिहरूले सेवा सुविधाको उपभोग गरिरहे पनि काम नगरेको आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणी अधिकारीका अनुसार, जनप्रतिनिधिहरूले प्रयोग गर्दै आएका दुई वटा गाडी र दुई वटा मोटरसाइकल प्रहरीको जिम्मामा छन् ।
नगर प्रमुख गोपाल राय यादव भ्रष्टाचारको आरोपमा निलम्बित भएपछि उपप्रमुख अम्बेया खातुन कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा आएकी थिइन् । तर, नगरसभाको समयमै आयोजनामा असफल भएको भन्दै नगरवासीहरूले असन्तोष प्रकट गरेका छन् ।
गत आर्थिक वर्षमा पनि नगर सभा गर्न नसकेपछि करोडौं बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि नगरसभा सम्पन्न नभएको भन्दै वडाध्यक्षहरूले असन्तोष व्यक्त गरेका छन् ।
कार्यवाहक नगर प्रमुख खातुनले भने आफू नगरसभा गराउन प्रयासरत रहेको बताएकी छन्, तर असार १० भित्र सम्पन्न हुनुपर्ने नगर सभा असोज १० सम्म पनि सम्पन्न नभएकोले शिक्षक, कर्मचारीहरूले तलब नपाउने अवस्था आएको छ ।




