रौतहट । लगातारको अविरल वर्षा रोकिएर जनजीवन केहि सहज बन्ने प्रयासमा रहेको भएपनि पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन । पछिल्लो तीन दिनको अविरल वर्षाले बागमती, झाँझ र लालबकैया नदीहरूमा आएको बाढीका कारण आइतबार सदरमुकाम गौर डुबानमा परेको छ । गौरका अधिकांश सडक जलमग्न भएका छन् र कतिपय घरमा बाढीको पानी पसेको छ ।
बिपी चोक आसपासका घरहरूबाहेक सदरमुकामका धेरै क्षेत्र बाढीको चपेटामा परेका छन् । गौर आँखा अस्पताल, सिसवा, सिर्सिया र सपगढालजस्ता वडाहरूमा शनिबार राति १२ बजेदेखि बाढी पसेको थियो, र गौर बजारमा आइतबार बिहान बाढीको पानी पसेपछि मुख्य बजारसमेत डुबानमा परेको नगरप्रमुख शम्भु साहले जानकारी दिए ।
गौरलाई जोड्ने मुख्य सडकहरू पनि जलमग्न छन्, जसले गर्दा आवागमन ठप्प भएको छ । यसैबीच, शनिबार बागमती, लालबकैया र झाँझ खोलामा आएको बाढीले राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, ईशनाथ नगरपालिका, राजपुर नगरपालिका, माधवनारायण र गढीमाई नगरपालिकाका धेरै क्षेत्रहरूमा बाढी पसेर कैयौं घरहरू डुबानमा परेका छन् । धेरै परिवारहरू विस्थापित भएका छन् ।
जिल्लामा बाढीका कारण एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी प्राप्त भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले ७९ जनाको उद्धार गरिएको र लगभग ५६ लाख बराबरको जनधन क्षति भएको बताए ।




