काठमाडौं । नेकपा एमालेले कांग्रेस सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज (शुक्रबार) ललितपुरमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
यस्तै आजको बैठकले नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णय गरेको छ । गएकाे जेठ २ मा पार्टी एकता गठित कार्यदल विघटन गर्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
नेता ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर समेत गरेको छ ।अदालतको फैसलालाई संविधान संशोधन हुने गरि आएको ठहर गर्दै यसलाई स्वीकारेर अगाडि बढ्ने निर्णय भएकाे उनले बताए ।
आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पक्षका नेताहरु मात्रै सहभागी थिए । माधव पक्षका नेताहरु उपस्थित थिएनन् । साथै नेता वामदेव गौतम पनि अनुपस्थित थिए । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको थियो ।
माधव पक्षका नेताहरू कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गर्न माग गर्दै त्यहाँ पुगेका थिए, तर ओलीले कार्यसूची अनुसार बैठक अघि बढ्ने भन्दै नेपाल पक्षीय नेताका आग्रह अस्वीकार गरेपछि उनीहरू बाहिरैबाट फर्किएका थिए ।
‘कार्यदलले जे सहमति गरेको छ, त्यसको कार्यान्वयन गरौं । एकताबारे सोच्नुस्, यो बैठक रोक्नुस्’ भन्दा ओलीले बैठक जारी राख्ने अडान कसेपछि आफूहरु त्यहाँबाट निस्किएको बैठकबाट बाहिरिएपछि भीम रावलले भनेका छन् ।






