दैलेख । चामुण्डाबीन्द्रासैनी नगरपालिका २ चाल्ने चौतारामा सोमबार राति २३ यात्रु बोकेको एसएमएल गाडी दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२००१ ख ०९०६ नम्बरको उक्त गाडी सुर्खेतबाट चामुण्डा २ तर्फ जाँदै गर्दा राति करिब ९ बजे दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनील दाहलले दिएको जानकारी अनुसार दुर्घटनामा २२ वर्षीय प्रकाश बुढाको निधन भएको छ । बुढा चामुण्डाबिन्द्रासैनी नगरपालिका १ सिंहासैनका स्थानीय बासिन्दा थिए ।
दुर्घटनामा परेपछि उनी गम्भीर घाइते भएका थिए र तत्कालै उपचारका लागि दुल्लु अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।
अन्य यात्रुहरू भने सकुशल रहेका छन् । दुर्घटना उकालोमा गाडीको टायर चिप्लिएर भएको बताइएको छ । घटनास्थलमा चालक राजेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






