यात्रा भनेको दूरी र समयको हिसाबले फरक-फरक हुने कुरा हो । कहिले काहीँ कुनै यात्रा छोटो र छिटो पूरा हुन्छ, त कहिले लामो र समय लाग्ने हुन्छ । तर यात्राको महत्त्व त्यसले लिने दूरी र समयभन्दा पर जान्छ । कुनै यात्रा व्यक्तिगत खुशीको लागि गरिन्छ भने कुनै परिवार, समाज वा राष्ट्रको लागि । कसैका लागि गरिने यात्रा पनि आफ्नै लागि प्रेरणादायक हुन सक्छ ।
यात्रा स्थलमार्ग, जलमार्ग वा हवाइमार्गबाट गरिन्छ । यात्रा सुरु गर्दा मनमा उत्साहसँगै केही डर र अनिश्चितताका भावनाहरू उब्जिन्छन् । नयाँ ठाउँ, नयाँ अनुहार र नयाँ वातावरणसँगको परिचयले यात्रालाई थप रोमाञ्चक बनाउँछ । शरीरले थकान महशुस गरे पनि मनले यात्राका दृश्यहरूले ताजगी प्राप्त गरिरहेको हुन्छ ।
यात्रा केवल शारीरिक गतिमा मात्र सिमित हुँदैन । यात्राको क्रममा वरिपरिको दृश्य, ठाउँ र परिस्थितिले मानिसलाई गम्भीर चिन्तनमा मग्न गराउँछ । त्यसैले यात्रा जीवनको गतिशील ऊर्जा मानिन्छ, जसले अनुभव र प्रेरणाको नयाँ स्रोत बनाउँछ । तीर्थाटन र पर्यटनजस्ता विभिन्न रूपले यात्रा परिभाषित गरिन्छ ।

यतिखेर त्रिभुवन राजपथमार्फत यात्राको चर्चा गर्नुपर्ने अवस्था छ । लगातारको वर्षा र बाढी–पहिरोले भीमफेदी–कुलेखानी–सिस्नेरी जस्ता छोटो मार्गहरू अवरुद्ध भएपछि पुरानो त्रिभुवन राजमार्गको यात्रा विकल्प बनेको छ । यो राजमार्गलाई अरु बेला खासै महत्त्व दिइँदैन । किनकि यो साँघुरो, धेरै घुम्तीले भरिएको र सवारी बिग्रिए मर्मत गर्न कठिन हुने खालको छ । यति मात्र नभएर यो राजमार्गले इन्धन पनि बढी खर्च गराउँछ, जसले गर्दा यात्रालाई धेरैले ‘पट्यारलाग्दो’ मान्छन् । तर, मेरो अनुभव भने फरक रह्यो । यो लामो यात्रा मेरा लागि रोमाञ्चक र रमाइलो थियो ।
पुरानो त्रिभुवन राजमार्ग संकटको बेला मात्र काममा आउने गरेको छ । अन्य मुख्य राजमार्गहरू बन्द हुँदा यो मार्गले पश्चिम र मध्य नेपाललाई राजधानीसँग जोड्ने काम गरेको छ । विशेष गरी, पृथ्वी राजमार्ग वा बर्दिवास हुँदै आउने वीपी कोइराला राजमार्ग बन्द भएमा त्रिभुवन राजमार्ग एक मात्र विकल्प रहन्छ ।
यस राजमार्गमा धेरै घुम्तीहरू छन् । नौबिसे र टिष्टुङको ‘सातघुम्ती’ र मकवानपुरको ‘बाह्रघुम्ती’ यसका प्रमाण हुन् । यस राजमार्गमा यात्रा गर्नेहरूलाई धेरै पटक बान्ता हुने समस्या हुन्छ । प्लास्टिकका झोलाहरू फालेर वरिपरिका जंगलमा थुप्रिएका देखिन्छन् । सुक्खा मौसममा यी प्लास्टिक डेब्रिजहरूले वन डढेलोको खतरा बढाउँछन् । साथमा खोटेसल्लाका ज्वलनशील वनहरूले आगलागीको जोखिम थप्छन् ।
त्रिभुवन राजमार्गमा यति धेरै घुम्तीहरू हुनुको मुख्य कारण निर्माण प्रविधिको पुरानोपन हो । यो मार्ग वि.सं. २०१३ सालमा बनेको हो, जब धेरै ठाउँमा मानव श्रम र थोरै यन्त्रहरूको प्रयोग गरिएको थियो । निर्माण प्रक्रियामा वातावरणलाई कम क्षति पुर्याउने सोच र निर्माण लागत घटाउन यति धेरै घुम्तीहरू राखिएका थिए ।
यो राजमार्ग वीरगन्जको सिर्सियादेखि काठमाडौंको त्रिपुरेश्वरसम्म करिब १९० किलोमिटर लामो छ । त्यसमा भैँसे–थानकोट खण्ड मात्र ११६ किलोमिटरको छ । गुगल म्यापमा हेर्दा यो राजमार्ग जंगलमा हराएको नागबेली जस्तो देखिन्छ । वरिपरि बनेका साना सडकहरूले यसलाई चिन्ने काम अझै गाह्रो बनाएका छन् ।
यस मार्गमा पर्ने दामन र पालुङ प्रसिद्ध छ । थाहा नगरपालिकामा पर्ने पालुङलाई ‘नेपालको कास्मिर’ भनेर उपमा दिइएको छ । हेटौँडाबाट करिब तीन घण्टामा पुगिने यो ठाउँ अर्गानिक तरकारी उत्पादनको खानी हो । काठमाडौं र हेटौँडामा पालुङको तरकारीको निकै माग छ । यदि यस राजमार्गलाई सधैं खुला र चलायमान बनाउन सकिन्थ्यो भने यहाँको स्थानीय अर्थतन्त्रमा थप सुधार आउँथ्यो । तर, यो बाटो संकटको समयमा मात्र प्रयोग हुन्छ ।
बिहान ८ बजे काठमाडौंबाट यात्रा सुरु गरेपछि म हेटौँडामा अपराह्न १:४५ बजे पुगें । करिब सात घण्टाको यात्रा भयो । छोटो मार्गबाट चार घण्टामा पुगिने यात्रा यो पुरानो राजमार्गले झन्डै २ घण्टा लामो बनायो । यद्यपि, यो पुरानो मार्ग नभएको भए, झन् लामो यात्रा गर्नुपर्ने थियो । यसै कारणले त्रिभुवन राजमार्ग बनाउने हातहरूलाई धन्यवाद दिन चाहन्छु । नेपाललाई स्थल यातायातको युगमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तिनै सुनौला र कर्मठ हातहरूको योगदानलाई सधैं सम्झिरहने छु ।




