नवलपरासी । ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १५ सुक्रौलीस्थित हुलाकी सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक ३९ वर्षीय प्रहरी हवल्दार चुडामणि भट्टराईको मृत्यु भएको छ । सुनवल १३ घ्युडल्लाका भट्टराई रोल्पाको थवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत थिए र दसैँ मनाउन घर आएका बेला उनी दुर्घटनामा परेका हुन् ।
गम्भीर घाइते भएका भट्टराईलाई जिल्ला अस्पताल परासीमा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले तीव्र गतिको कारण दुर्घटना भएको अनुमान गरेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले केही समयका लागि हुलाकी सडक अवरुद्ध गरेका थिए । ट्रक चालकलाई पक्राउ गरिएको छ भने भट्टराईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ ।






