सर्लाही । सर्लाहीमा दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पहिलो दुर्घटना सोमबार साँझ बागमती नगरपालिका १२ मा बथानेबाट बागमती पुलतर्फ जाँदै गरेको प्र २०३००८ प ३८४७ नम्बरको मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पैदलयात्री कृष्ण मोक्तानको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई बागमती मोडेल अस्पताल कर्मैया हुँदै एलएस न्यूरो बारा लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोस्रो दुर्घटना बसबरिया गाउँपालिका ६ पोखरिया टोलमा, जहाँ मधेश प्रदेश ०२-००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई राति दुर्घटना हुँदा ३९ वर्षीय भुव नारायण राय यादवको मृत्यु भएको हो । गम्भीर घाइते यादवलाई प्रादेशिक अस्पताल मलगवा पुर्याइए पनि उपचारकै क्रममा निधन भएको हो ।
दुर्घटनामा अटोमा सवार ६ जना घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




