सप्तरी । सप्तरीको राजविराजस्थित कारागार हाल जग्गा अतिक्रमणको समस्यामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको यस कारागारको करिब एक बिघा जग्गा स्थानीयले घरटहरा निर्माण गरी अतिक्रमण गरेका छन्, जसका कारण कारागार प्रशासन समस्यामा परेको हो । जेलर प्रवीणकुमार अधिकारीका अनुसार, अतिक्रमित क्षेत्रमा ८० वटा पक्की र फुसका घर बनाइसकिएको छ ।
कारागार प्रशासनले विगत १० वर्षदेखि राजविराज नगरपालिका, कारागार विभाग र स्थानीय प्रशासनलाई अतिक्रमित जग्गा खाली गराउन पटक पटक ३५ र १५ दिने सूचना जारी गरेपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । वि.सं. २००८ मा निर्माण भएको यो कारागार सरकारी उपेक्षाका कारण जीर्ण, लथालिङ्ग र असुरक्षित अवस्थामा पुगेको छ ।
१२५ जनाको क्षमताको यो कारागारमा हाल १४ महिलासहित ४७६ जना कैदी राखिएका छन्, जुन निर्धारित क्षमताभन्दा चौगुणा बढी हो । जेलर अधिकारीका अनुसार, यो जीर्ण भवन र अत्यधिक कैदी संख्याका कारण व्यवस्थापन र निगरानीमा गम्भीर समस्या देखिएको छ ।
अधिकारीले बताए अनुसार कारागारमा दम, श्वासप्रश्वास, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोगबाट ग्रसित कैदीहरूको संख्या धेरै भए पनि आवश्यक स्वास्थ्यकर्मीको अभावले उनीहरूको उपचारमा समस्या भइरहेको छ । साथै, कारागारमा जेनरेटर, इन्भर्टरजस्ता भौतिक सुविधाको पनि कमी छ ।
कैदीहरूको अत्यधिक भीडका कारण शौचालय, स्नान, खाना पकाउने र खाने व्यवस्थामा समेत कठिनाइ उत्पन्न भएको कैदीहरूको भनाइ छ । कारागार प्रशासनले कैदीहरूको संख्या घटाउन अन्य कारागारमा सरुवा गर्न प्रयास गरेपनि, घरपायक मोहका कारण कैदीहरूले सरुवा हुन अस्वीकार गरेका छन् ।




